नेपाली राजदूतावास, सिओलमा नेपाल–कोरिया महिला राजनीतिक नेतृहरूको ऐतिहासिक भेट

theoutsidenepal.com

नेपाली राजदूतावास, सिओलमा नेपाल–कोरिया महिला राजनीतिक नेतृहरूको ऐतिहासिक भेट—महिला आन्दोलनको इतिहासदेखि भावी सहकार्यसम्म गहन छलफल, समन्वयनमा श्रीजना नेपालीको महत्वपूर्ण भूमिका

सिओल, दक्षिण कोरिया — दक्षिण कोरियास्थित नेपाली राजदूतावासमा नेपालका लागि नेपाली राजदूत शिवमाया तुम्बाहाङ्फे सँग कोरियाका प्रमुख महिला राजनीतिक नेतृहरूबीच विशेष अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

उक्त भेटघाटमा कोरियाका विभिन्न स्थानीय तथा महानगर परिषद्का प्रभावशाली महिला प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागी नेतृहरूमा Jeong Sun-cheon (पूर्व दाएगु महानगर परिषद् सदस्य तथा उपाध्यक्ष), Jo Yang-min (पूर्व ग्येङ्गी प्रान्तीय परिषद् सदस्य तथा महिला आर्थिक अभियन्ता), Lee Hoon-mi (गुनपो सिटी काउन्सिल सदस्य तथा पूर्व Samsung Electronics मार्केटिङ प्रबन्धक), Lee Se-nal (सिओल मेट्रोपोलिटन काउन्सिल सदस्य तथा महिला उद्यमी विशेष समितिकी अध्यक्ष) तथा Park Hye-su (सांस्कृतिक तथा अन्तर्राष्ट्रिय आदानप्रदान अभियन्ता) रहनुभएको थियो।


कोरियाको महिला आन्दोलन र राजनीतिक नेतृत्व

कार्यक्रममा कोरियाली नेतृहरूले दक्षिण कोरियामा महिला आन्दोलनको ऐतिहासिक पृष्ठभूमिबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभयो। सन् १९८० दशकको लोकतान्त्रिक आन्दोलनपछि महिलाहरूको राजनीतिक सहभागिता क्रमशः वृद्धि हुँदै आएको उल्लेख गर्दै, स्थानीय सरकारदेखि महानगर परिषद् तथा राष्ट्रिय तहसम्म महिला प्रतिनिधित्व विस्तारका लागि निरन्तर प्रयास भएको बताइएको थियो।

विशेषगरी महिला उद्यमशीलता प्रवर्द्धन, लैङ्गिक समानता सम्बन्धी नीति निर्माण, शिक्षा तथा सामाजिक सेवामार्फत महिला अधिकार सुदृढीकरणजस्ता क्षेत्रमा कोरियाले हासिल गरेका उपलब्धिहरू साझा गरिएको थियो।

नेपालको महिला आन्दोलनको अनुभव

नेपालतर्फबाट महिला आन्दोलनले संवैधानिक अधिकार सुनिश्चितता, समानुपातिक प्रतिनिधित्व, समावेशी शासन व्यवस्था तथा स्थानीय तहमा महिला नेतृत्व विस्तारका क्षेत्रमा हासिल गरेका उपलब्धिहरूबारे जानकारी आदानप्रदान गरिएको थियो।



दुवै देशका प्रतिनिधिहरूले महिला नेतृत्व विकास, नीतिगत सहकार्य तथा अन्तर्राष्ट्रिय सञ्जाल निर्माणका विषयमा अनुभव साझा गर्दै भावी योजनाहरूबारे समेत छलफल गरेका थिए।

भविष्यमा सहकार्यका क्षेत्र

छलफलका क्रममा निम्न विषयहरूमा सहकार्य विस्तार गर्ने समझदारी बनेको छ:

• महिला नेतृहरूबीच नियमित अन्तरक्रिया

• नेतृत्व विकास तथा अध्ययन भ्रमण कार्यक्रम

• महिला उद्यमशीलता प्रवर्द्धन

• सांस्कृतिक तथा नीतिगत आदानप्रदान

• नेपाल–कोरिया महिला सञ्जाल स्थापना


कार्यक्रम समन्वयनमा श्रीजना नेपाली

उक्त कार्यक्रमको समन्वय तथा मध्यस्थतामा Korea–Nepal International Exchange Association की अध्यक्ष श्रीजना नेपालीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।

नेपाल र कोरियाबीच महिला राजनीतिक नेतृत्व सुदृढीकरण, सांस्कृतिक सम्बन्ध विस्तार तथा अन्तर्राष्ट्रिय सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले उहाँले दुवै पक्षबीच समन्वय गर्दै कार्यक्रम सफल बनाउन विशेष पहल गर्नुभएको जनाइएको छ।

यस भेटघाटले नेपाल र दक्षिण कोरियाबीच महिला नेतृत्व र राजनीतिक सहभागिताको क्षेत्रमा दीर्घकालीन सहकार्यको नयाँ आधार तयार गरेको विश्वास गरिएको छ।

प्रतिक्रिया