मध्यपूर्वमा इजरायल–इरान तनावका बीच बसोबास गर्ने १९ लाखभन्दा बढी नेपालीहरुको सुरक्षा बढ्दो चिन्ताको विषय बनेको छ। यस्तो परिस्थितिमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी निर्वाचन तत्काल गर्नु उपयुक्त नहुने भएको भन्दै नेता नरेन्द्र बस्नेतले आवाज उठाएका छन्।
बस्नेतले आफ्नो सामाजिक सञ्जाल स्टाटसमा उल्लेख गर्दै, “मध्यपूर्वका देशहरू—इजरायल, इरान, कतार, कुवेत, युएई, बहराइन—मा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको जीवन रक्षाको सवाल उठिरहेको छ। यस अवस्थामा निर्वाचनलाई प्राथमिकता दिनु मानवियताको उपहासजस्तै हुनेछ।”
उनले यसैबीच एनआरएनएले आफ्नै निर्वाचन प्रक्रिया अगाडि बढाउन हतार गर्नुको सट्टा, प्रबासी नेपालीहरुको सुरक्षालाई मुख्य प्राथमिकतामा राखी निर्णय गर्नु जरुरी भएको बताए। बस्नेतका अनुसार, “विषम परिस्थितिमा कहिलेकाहीं विधान भन्दा माथि उठेर मानवियताको हिसाबले निर्णय लिनु आवश्यक हुन्छ। नयाँ म्यान्डेट वा पदावधि समाप्त हुने चिन्ता भन्दा माथि प्रबासी नेपालीको सुरक्षा नै मुख्य हुनुपर्छ।”
एनआरएनएका वैश्विक र क्षेत्रीय निकायहरू, जस्तै एनआरएनए ग्लोबल, एनआरएनए जापान, एनआरएनए यूएसए, र एनआरएनए डेलिगेट ग्लोबललाई समेत यस संदर्भमा सक्रिय भएर कदम चाल्न सुझाव दिइएको छ।