द टन न्युज । विशेष रिपोर्ट
भोटेकोशीदेखि बागलुङसम्म एनआरएनएको राहत अभियान तीव्र, गृहमन्त्री गुरुङसँग सहकार्यबारे छलफल
काठमाडौं, १५ असोज २०८३ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत, उद्धार तथा मानवीय सहायता अभियानलाई निरन्तरता दिएको छ। यसै क्रममा एनआरएनएको प्रतिनिधिमण्डलले गृहमन्त्री सुदन गुरुङसँग भेट गरी भोटेकोशी बाढीपछिको राहत तथा उद्धारमा संघले गर्दै आएको कार्यबारे जानकारी गराएको छ।
भेटमा एनआरएनए प्रतिनिधिमण्डलले विश्वभरबाट सहयोग जुटाई भोटेकोशी बाढी प्रभावित परिवारलाई राहत तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको जानकारी गराएको थियो। प्रभावित क्षेत्रमा राहत वितरण, स्वास्थ्य शिविर सञ्चालन तथा स्थानीय तह र सम्बन्धित सरकारी निकायसँग समन्वय गरी काम भइरहेको प्रतिनिधिमण्डलले जनाएको छ।
गृहमन्त्री गुरुङले विपद्का समयमा एनआरएनएले पुर्याउँदै आएको राहत तथा मानवीय सहयोगप्रति धन्यवाद व्यक्त गर्दै राहतपछि पुनर्निर्माण र पुनःस्थापनाको चरणमा समेत सरकार र एनआरएनएबीच सहकार्य गर्न सकिने धारणा राख्नुभएको छ।
भेटमा विपद् प्रभावित क्षेत्रमा राहत, पुनःस्थापना तथा पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन सरकार र एनआरएनएबीच निरन्तर समन्वय गर्ने विषयमा समेत छलफल भएको थियो।
बागलुङमा १०० भन्दा बढी परिवारलाई राहत
यसैबीच, बागलुङका ताराखोला, निशीखोला र तमानखोलालगायत क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि एनआरएनएको राहत टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ।
स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, सांसद, नेपाल रेडक्रस सोसाइटीलगायत सरोकारवाला निकायसँग समन्वय गर्दै राहत सामग्रीसहित टोली काठमाडौं हुँदै बुटवलबाट निशीखोला र तमानखोलातर्फ प्रस्थान गरेको हो।
राहत टोलीमा एनआरएनए आईसीसी विपद् व्यवस्थापन समितिका संयोजक तथा उपाध्यक्ष मनोजकुमार गोर्खाली र आईसीसी प्रवक्ता सोमनाथ सापकोटा सहभागी हुनुहुन्छ।
टोलीले १०० भन्दा बढी बाढी तथा पहिरो प्रभावित परिवारलाई खाद्यान्न, कम्बल, पिरफर्म, त्रिपाल तथा दैनिक उपभोग्य सामग्रीसहित राहत उपलब्ध गराउने जनाएको छ।
एनआरएनएले बागलुङसँगै पर्वत र म्याग्दीका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा समेत स्थानीय आवश्यकता पहिचान गरी राहत सहयोग पुर्याउने तयारी गरेको छ। त्यसका लागि सम्बन्धित जिल्ला प्रशासन, स्थानीय तह, जनप्रतिनिधि, रेडक्रस तथा स्थानीय सरोकारवालासँग निरन्तर समन्वय भइरहेको संघले जनाएको छ।
विपद्को समयमा प्रवासमा रहेका नेपालीलाई राहत अभियानसँग जोड्दै एनआरएनएले तत्कालीन राहतसँगै पुनःस्थापना र पुनर्निर्माणका चरणमा समेत सहकार्य गर्ने प्रतिबद्धता अघि सारेको छ।