काठमाडौँ — पत्रकार तथा ‘जनआस्था’ साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी उच्च स्रोतका अनुसार श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित उनको निवासबाट पक्राउ गरिएको हो।
श्रेष्ठलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालन गरिएको थियो। उनलाई वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार श्रेष्ठविरुद्ध एक जना पीडितले उजुरी दिएका छन्। उजुरी केही दिनअघि उनको सञ्चारमाध्यममा प्रकाशित भएको तस्बिरसँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ।
श्रेष्ठलाई हाल जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ। प्रहरीले उनलाई बिहीबार अदालतमा उपस्थित गराउने तयारी गरेको छ।
यसैबीच, उपसभामुख रुवीकुमारी ठाकुरले बुधबार नै ‘जनआस्था डटकम’को सामाजिक सञ्जाल पेजबाट आफ्नो तस्बिरसहित आपत्तिजनक तथा धम्क्याउने किसिमको सामग्री प्रकाशित भएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी थिइन्।
उपसभामुख ठाकुरले उजुरीमार्फत प्रकाशित सामग्रीमा उल्लेख गरिएका आरोप तथा दाबीको स्रोत र प्रमाण झिकाई निष्पक्ष छानबिन गर्न माग गरेकी छन्।
प्रहरीले श्रेष्ठविरुद्ध परेको उजुरी र प्रकाशित सामग्रीसँग सम्बन्धित विषयमा अनुसन्धान अघि बढाइरहेको जनाएको छ।