पूर्वमेयर नृप ओडको स्पष्ट धारणा: “देशलाई प्रतिशोधको होइन, सुशासन र विकासको राजनीति चाहिएको छ”

theoutsidenepal.com

पूर्वमेयर नृप ओडको स्पष्ट धारणा: “देशलाई प्रतिशोधको होइन, सुशासन र विकासको राजनीति चाहिएको छ”

काठमाडौं। धनगढी उपमहानगरपालिकाका तत्कालीन मेयर तथा नेपाली कांग्रेसका प्रभावशाली नेता नृप ओड ले वर्तमान राष्ट्रिय राजनीतिक अवस्था, सरकारको कार्यशैली र नेपाली कांग्रेसको आन्तरिक अवस्थाबारे खुला रूपमा आफ्नो धारणा व्यक्त गरेका छन्।


द टन न्युज को विशेष कार्यक्रम ‘Manav Ko Awaaj’ मा टन मिडिया ग्रुपका अध्यक्ष एचबी ताम्राकारसँगको विशेष संवादमा बोल्दै ओडले देशको समसामयिक राजनीति, विकास, सुशासन तथा लोकतन्त्रका विभिन्न पक्षबारे विस्तृत टिप्पणी गरेका हुन्। उक्त विशेष संवाद काठमाडौंको Oregano Flavour OF Food, बालुवाटार मा रेकर्ड गरिएको थियो।


ओडले बालेन शाह नेतृत्वको सरकार ले केही क्षेत्रमा सकारात्मक काम गरेको स्वीकार गर्दै सुशासन र सेवा प्रवाहका केही प्रयास प्रशंसनीय रहेको बताए। तर, सरकारका धेरै निर्णयहरू राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाउँदै विपक्षी दल, विशेषगरी नेपाली कांग्रेसका नेताहरूलाई लक्षित गरेर दुःख दिने र कानुनी प्रक्रियालाई राजनीतिक प्रतिशोधका रूपमा प्रयोग गर्ने प्रवृत्ति देखिएको उनको दाबी छ।


नेपाली कांग्रेसको वर्तमान अवस्थाबारे बोल्दै उनले पार्टी कमजोर बन्नुमा नेतृत्व तहको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे। उनले विशेष रूपमा गगन थापाको भूमिकामाथि प्रश्न उठाउँदै पार्टीभित्रको कमजोर अवस्थाका लागि उनको पनि जिम्मेवारी रहेको धारणा व्यक्त गरे।


कांग्रेस सभापति शेरबहादुर देउवाबारे उठिरहेका विभिन्न आरोपका सन्दर्भमा पनि उनले आफ्नो दृष्टिकोण राखे। देउवा नै नेपाली कांग्रेसको निर्विवाद सभापति रहेको उल्लेख गर्दै पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।


संवादका क्रममा ओडले आफ्नो कार्यकालमा धनगढी उपमहानगरपालिकामा भएका विकास निर्माणका योजनाहरू पनि स्मरण गरे। उनले सडक विस्तार, पूर्वाधार विकास, शहरी योजना, सेवा प्रवाह र संस्थागत सुधारका कारण आजको आधुनिक र व्यवस्थित धनगढी निर्माणको बलियो आधार आफ्नो नेतृत्वकालमै तयार भएको दाबी गरे। स्थानीय तहको विकासमा दीर्घकालीन सोचका साथ अघि बढिएकाले आज धनगढीले पाएको स्वरूप त्यसैको परिणाम भएको उनको भनाइ थियो।


देशको राजनीतिक नेतृत्वले आरोप–प्रत्यारोपभन्दा माथि उठेर विकास, सुशासन, रोजगारी र जनताको विश्वास जित्ने काममा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याउँदै ओडले लोकतन्त्रलाई अझ बलियो बनाउन सबै राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताए।

‘Manav Ko Awaaj’ कार्यक्रममार्फत सार्वजनिक भएको यो विशेष संवादले राष्ट्रिय राजनीति, कांग्रेसको भविष्य र धनगढीको विकास यात्राबारे नृप ओडका स्पष्ट धारणाहरूलाई दर्शकमाझ ल्याएको छ।


प्रतिक्रिया