पारदर्शिताको उदाहरण प्रस्तुत गर्दै शिक्षा मन्त्री सस्मित पोखरेल—सम्पत्ति विवरण सार्वजनिकपछि उठेका प्रश्नको स्पष्ट जवाफ, चौतर्फी प्रशंसा
काठमाडौं । शिक्षा मन्त्री सस्मित पोखरेल ले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेपछि उठेका विभिन्न प्रश्नहरूको स्पष्ट र विस्तृत जवाफ दिएका छन्। पारदर्शितालाई प्राथमिकता दिँदै उनले सार्वजनिक रूपमा दिएको स्पष्टीकरणपछि सामाजिक सञ्जाल र विभिन्न क्षेत्रबाट चौतर्फी प्रशंसा प्राप्त भइरहेको छ।
मन्त्री पोखरेलले आफू त्रिभुवन विश्वविद्यालय अन्तर्गत “सार्वजनिक नीति, सुशासन तथा भ्रष्टाचार निवारण” विषयको विद्यार्थीसमेत रहेको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रणका लागि पारदर्शिता सबैभन्दा प्रभावकारी माध्यम भएको बताएका छन्। सोही मान्यताअनुसार उनले आफ्नो मात्र नभई बुवा, आमा र मावली पक्षसम्मको सम्पत्ति विवरण सार्वजनिक गरेको जानकारी दिएका छन्।
उनका अनुसार प्राविधिक रूपमा व्यक्तिगत सम्पत्ति मात्र खुलाउनु पर्याप्त भए पनि उनले पूर्ण पारदर्शिताको अभ्यास गर्न सम्पूर्ण विवरण सार्वजनिक गरेका हुन्। “यी सबै सम्पत्तिहरू हाम्रो परिवारको इमान्दार मेहनतको कमाइ हुन्, त्यसैले मलाई कुनै डर छैन,” उनले उल्लेख गरेका छन्।
मन्त्री पोखरेलले आफ्नो बुवाको पृष्ठभूमि स्पष्ट पार्दै, उनी नेपाल राष्ट्र बैंक मा करिब ३० वर्ष सेवा गरी कार्यकारी निर्देशक पदबाट अवकाश प्राप्त गरेको र अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF), वाशिङ्टन डी.सी. मा समेत सल्लाहकारको रूपमा कार्य गरेको जानकारी दिएका छन्।
काठमाडौंको जग्गा खरिद सम्बन्धी उठेका प्रश्नमा उनले त्यस समयको मूल्य अहिलेको तुलनामा निकै कम रहेको र हाल सम्पत्तिको मूल्य ५० गुणासम्म वृद्धि हुनु समग्र बजार प्रवृत्तिको परिणाम भएको स्पष्ट पारे। पारदर्शितालाई ध्यानमा राख्दै उनले खरिद मूल्य नभई वर्तमान बजार मूल्य नै उल्लेख गरेको बताएका छन्।
त्यस्तै, आफू “privileged background” बाट आएको स्वीकार गर्दै पनि आधारभूत शिक्षाबाहेक पारिवारिक सम्पत्तिमा निर्भर नभएको उनले बताएका छन्। स्नातक अध्ययनकै क्रममा पार्ट टाइमदेखि फुल टाइमसम्म काम गर्दै आफ्नै खर्च व्यवस्थापन गरेको र हाल देखाइएको ऋणसमेत आफ्नै आम्दानीबाट गाडी खरिद गर्न लिएको स्पष्ट पारे।
PAN नम्बर सार्वजनिक नगरेको विषयमा पनि उनले व्यक्तिगत सुरक्षाको कारण देखाउँदै, आफू सँग वैध PAN नम्बर रहेको तर सार्वजनिक दस्तावेजमा उल्लेख नगरेको जानकारी दिएका छन्।
मन्त्री पोखरेलको यस स्पष्टता र पारदर्शिताप्रति देखिएको प्रतिबद्धताले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाएको छ। धेरैले यसलाई सार्वजनिक पदमा रहेका व्यक्तिहरूका लागि उदाहरणीय अभ्यासका रूपमा लिएका छन्।