बैंक तथा वित्तीय संस्थाको सुरक्षा चुनौतीबारे उच्चस्तरीय छलफल
काठमाडौं — नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले पछिल्लो समय बैंक तथा वित्तीय संस्था तथा ती संस्थामा कार्यरत कर्मचारीहरूको सुरक्षा चुनौतीका विषयमा सरोकारवालासँग छलफल गर्नुभएको छ।
आज सम्पन्न छलफलमा प्रहरी महानिरीक्षक श्री दानबहादुर कार्की तथा नेपाल बैंकर्स एसोसिएसनका पदाधिकारीहरूको सहभागिता रहेको थियो। छलफलमा बैंक तथा वित्तीय संस्थामा देखिँदै आएका सुरक्षा जोखिम, कर्मचारीहरूको व्यक्तिगत तथा व्यावसायिक सुरक्षाका चुनौती, डिजिटल तथा भौतिक सुरक्षाका विषय, साथै आपराधिक गतिविधि न्यूनीकरणका उपायहरूबारे विस्तृत रूपमा विचार–विमर्श गरिएको जनाइएको छ।
गभर्नर पौडेलले बैंकिङ प्रणालीको स्थायित्वका लागि कर्मचारी र संस्थाको सुरक्षा अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै सुरक्षा निकाय, नियामक संस्था र बैंकहरूबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले सम्भावित जोखिमहरू पहिचान गरी समयमै नीतिगत तथा व्यावहारिक उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो।
छलफलमा प्रहरी महानिरीक्षक कार्कीले बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि प्रहरीको तर्फबाट आवश्यक सहयोग र समन्वयलाई थप सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। बैंकर्स एसोसिएसनका पदाधिकारीहरूले बैंकिङ क्षेत्रमा देखिएका व्यावहारिक सुरक्षा समस्याहरू अवगत गराउँदै समाधानका लागि साझा प्रयासको आवश्यकता औंल्याएका थिए।
छलफलबाट बैंक तथा वित्तीय संस्थाको सुरक्षा प्रणालीलाई थप मजबुत बनाउने, सूचना आदान–प्रदान बढाउने र आपतकालीन अवस्थामा समन्वयात्मक कार्यविधि विकास गर्ने विषयमा सहमति भएको बताइएको छ।