देश रोइरहेको बेला आर्य होटलको सहारा : भोटेकोशी बाढीपीडितका लागि १० लाख सहयोग

theoutsidenepal.com

देश रोइरहेको बेला आर्य होटलको सहारा : भोटेकोशी बाढीपीडितका लागि १० लाख सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको पीडामा साथ दिँदै ठमेलस्थित आर्य होटल एण्ड स्पाले प्रधानमन्त्री बालेन शाह राहत कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ।

आर्य होटल एण्ड स्पाका सञ्चालक कृष्ण सिम्खडाको नेतृत्वमा होटलले विपद्को यस कठिन घडीमा पीडित नागरिकको सहयोगका लागि उक्त रकम प्रदान गरेको हो।

द टन न्युजलाई प्राप्त जानकारीअनुसार, उनले यो सहयोगलाई कुनै प्रचार वा व्यक्तिगत चर्चाको विषयभन्दा पनि देश र जनतामाथि परेको दुःखमा आफ्नो तर्फबाट निभाउनुपर्ने जिम्मेवारीका रूपमा लिएका छन्।



‘देश रोइरहेको बेला आफू पनि चुप लागेर बस्न हुँदैन’ भन्ने भावनासहित गरिएको यो सहयोगले बाढीपीडितप्रतिको मानवीय संवेदनालाई उजागर गरेको छ।

भोटेकोशी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका नागरिक अहिले राहत, पुनःस्थापना र पुनर्निर्माणको पर्खाइमा छन्। यस्तो पीडाको समयमा राज्यसँगै निजी क्षेत्र, व्यवसायी, समाजसेवी तथा आम नागरिक एकजुट भएर उभिनुपर्ने आवश्यकता छ।

आर्य होटलको यो सहयोग रकममा मात्र सीमित छैन। यो विपद्को समयमा ‘पीडितको दुःख मेरो पनि दुःख हो’ भन्ने मानवीय भावनाको उदाहरणसमेत हो।

देशलाई अहिले भाषणभन्दा सहयोग चाहिएको छ, पीडितलाई आश्वासनभन्दा साथ चाहिएको छ।यही भावनाका साथ गरिएको आर्य होटल एण्ड स्पाको १० लाख रुपैयाँ सहयोग संकटको घडीमा मानवता अझै जीवित छ भन्ने एउटा सुन्दर उदाहरण बनेको छ।

प्रतिक्रिया