काठमाडौँ । रुबीकुमारी ठाकुर ले आफूले संसद सञ्चालन गर्न नसकेको भन्ने चर्चा गलत भएको बताएकी छन्। सञ्चारमाध्यममा आएको समाचारप्रति असन्तुष्टि जनाउँदै उनले आफू सक्षम भएरै उपसभामुखको जिम्मेवारी सम्हालेको स्पष्ट पारेकी हुन्।
उनले भनिन्, “अस्ति र हिजो सभामुखज्यू ट्वाइलेट जानुभएको बेला मलाई माथि (आसनमा) बोलाउनुभएको थियो । एकैछिनमा फर्केर आइहाल्नु भयो । मैले एक–दुईपटक बोलेँ । म सभा चलाउन सक्दिनँ भनेको छैन । सक्छु भनेरै उपसभामुखको जिम्मेवारी लिएको हुँ ।”
उपसभामुख ठाकुरले केही सञ्चारमाध्यमले आफूलाई संसद सञ्चालन गर्न नसक्ने रूपमा प्रस्तुत गरेको भन्दै आपत्ति जनाइन्। “अहिले मिडियाहरुले मेरो बारेमा नराम्रो कुराहरु लेखिरहेको देखेको छु । मैले संसद चलाउन नसकेर अरुलाई दिएको भनेर मिडियामा आएको रहेछ । म किन सक्दिन भन्नुस त ?” उनले प्रश्न गरिन्।
उनले आगामी बैठकमा आफूले नै संसद सञ्चालन गर्ने संकेत गर्दै सञ्चारकर्मीलाई प्रत्यक्ष हेर्नसमेत आग्रह गरिन्। “अर्को दिन म वैठक चलाउँछु, तपाईंहरु फोटो खिच्न आउनु,” उनले भनिन्।
उनको अभिव्यक्तिपछि संसद सञ्चालन क्षमताबारे उठेका टिकाटिप्पणीमाथि नयाँ बहस सुरु भएको छ।