गणेश नेपालीको निधनपछि युकेबाट राजशान्ति सुनारको भावुक अपिल: “जनताका सेवकले अत्याचार नगरून्”
काठमाडौं— आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान ११:२० बजे निधन भएपछि देश–विदेशबाट दुःख र आक्रोश मिश्रित प्रतिक्रिया आउने क्रम जारी छ। यसैबीच बेलायत (युके)मा रहेका वरिष्ठ समाजसेवी राजशान्ति सुनारले सामाजिक सञ्जालमार्फत भावुक प्रतिक्रिया व्यक्त गर्दै राज्यका निकायलाई जनताप्रति जिम्मेवार बन्न आग्रह गरेका छन्।
राजशान्ति सुनारले आफ्नो स्टाटसमा लेखेका छन्, “सम्पूर्ण नेता, मन्त्री, प्रहरी, सेना, सरकारी कर्मचारी जनता को खुन–पसिनाको कमाइबाट पालिएका देश र जनताका सेवक हुन्। जनतामाथि अत्याचार नगर है।”
गणेश नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मोटरसाइकलमा ‘ह्वील लक’ लगाएपछि उनले उक्त कदम चालेको प्रारम्भिक जानकारी सार्वजनिक भएको थियो। प्रहरी टोलीले तत्काल उद्धार गरी वीर अस्पताल पुर्याए पनि उपचारकै क्रममा उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ।
मुगुको सोरु गाउँपालिका–१ घर भएका गणेश नेपाली हाल भक्तपुरमा श्रीमती र एक छोरीसँग बस्दै आएका थिए। उनी पेशाले राइड सेयरिङ (पठाओ) चालक थिए।
गणेश नेपालीको मृत्युले सामाजिक सञ्जालमा राज्यका निकायको व्यवहार, नागरिक अधिकार र सार्वजनिक सेवाप्रति जिम्मेवारीबारे व्यापक बहस सुरु भएको छ। युकेस्थित समाजसेवी राजशान्ति सुनारको भावुक अभिव्यक्तिलाई धेरैले जनभावनाको आवाजका रूपमा साझा गरिरहेका छन्।