साउदी अरबमा ५० नेपाली युवा अलपत्र : यम तमुले भने– ‘मेनपावरविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी दिनुस्’

theoutsidenepal.com

साउदी अरबमा ५० नेपाली युवा अलपत्र : यम तमुले भने– ‘मेनपावरविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी दिनुस्’

द टन न्युज । काठमाडौं ।

साउदी अरबमा करिब ५० जना नेपाली युवा अलपत्र परेको विषय सार्वजनिक भएपछि समाजसेवी, व्यवसायी एवं युवा अभियन्ता यम तमुले सम्बन्धित निकायमार्फत कानुनी उपचार खोज्न आग्रह गर्नुभएको छ।

अलपत्र परेका नेपाली युवाहरूले विभिन्न सञ्चारमाध्यममार्फत आफ्नो समस्या सार्वजनिक गरे पनि आफूहरूलाई वैदेशिक रोजगारीमा पठाउने मेनपावर कम्पनीको नाम भने सार्वजनिक नगरेको भन्दै तमुले समस्याको समाधानका लागि सम्बन्धित मेनपावर कम्पनीविरुद्ध औपचारिक उजुरी गर्नुपर्ने बताउनुभएको छ।

तमुका अनुसार वैदेशिक रोजगारीका क्रममा कुनै नेपाली श्रमिक विदेशमा अलपत्र पर्ने, सम्झौताअनुसारको काम वा पारिश्रमिक नपाउने, रोजगारदाताले समस्या सिर्जना गर्ने वा मेनपावर कम्पनीबाट ठगी भएको आशंका भएमा वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा उजुरी दर्ता गर्न सकिन्छ।

उहाँले सञ्चारमाध्यममा आफ्नो पीडा राख्नु महत्वपूर्ण भए पनि समस्या समाधानका लागि सम्बन्धित निकायमा प्रमाणसहित औपचारिक उजुरी गर्नु अझ आवश्यक रहेको बताउनुभएको छ।

‘विदेशमा अलपत्र पर्नुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले आफ्नो समस्या मिडियामार्फत राख्नुस्, तर आफूलाई विदेश पठाउने मेनपावर कम्पनीको विवरणसहित वैदेशिक रोजगार विभागमा पनि उजुरी गर्नुस्,’ तमुको आग्रह छ।

उहाँले पीडित नेपाली श्रमिकको उद्धार, कानुनी उपचार र दोषी देखिएमा सम्बन्धित व्यक्ति वा संस्थामाथि कारबाहीका लागि राज्यका सम्बन्धित निकाय सक्रिय हुनुपर्नेमा जोड दिनुभएको छ।

साउदी अरबमा अलपत्र परेका भनिएका नेपाली युवाहरूको वास्तविक अवस्था, उनीहरूलाई पठाउने मेनपावर कम्पनी, रोजगारी सम्झौता तथा रोजगारदातासम्बन्धी विवरण भने सम्बन्धित निकायबाट थप स्पष्ट हुन आवश्यक देखिन्छ।


प्रतिक्रिया