उद्योगमन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा, ग्यास उद्योगीमाथिको विवादास्पद अभिव्यक्ति बने कारण

theoutsidenepal.com

उद्योगमन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा, ग्यास उद्योगीमाथिको विवादास्पद अभिव्यक्ति बने कारण

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिएका छन्।

मन्त्री यादवले बुधबार संसदीय समितिको बैठकमा ग्यास उद्योगीहरूप्रति दिएको विवादास्पद अभिव्यक्तिपछि उनको राजीनामा आएको हो। पछिल्लो समय ग्यास अभावलाई लिएर सरकार र उद्योगीबीच देखिएको तनावका बीच मन्त्री यादवको अभिव्यक्तिले थप विवाद सिर्जना गरेको थियो। 

बुधबार बिहान उद्योग समितिको बैठकमा मन्त्री यादवले ग्यास अभावको मुख्य कारण उद्योगीहरू रहेको दाबी गर्दै ‘ग्यास उद्योगीको पाता नकसेसम्म ग्यास अभाव सहज हुँदैन’ भन्ने अभिव्यक्ति दिएकी थिइन्।

मन्त्रीको उक्त भनाइप्रति ग्यास उद्योगीहरूले आपत्ति जनाएका थिए। उनीहरूले अभिव्यक्ति आपत्तिजनक भएको भन्दै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए। नेपाल उद्योग वाणिज्य महासंघले समेत मन्त्री यादवको अभिव्यक्तिप्रति आपत्ति जनाएको समाचार सार्वजनिक भएको छ। 

ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकार र व्यवसायीबीच समन्वय आवश्यक भइरहेका बेला मन्त्रीको अभिव्यक्तिले विवाद थप चर्काएको थियो। त्यसको केही समयमै मन्त्री यादवले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएकी हुन्।

अब उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने विषय प्रधानमन्त्री शाहको निर्णयमा निर्भर हुनेछ।


प्रतिक्रिया