आज सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ देशभर केही सामान्य घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ। निर्वाचन सम्पन्न गराउने ऐतिहासिक कार्यमा सहयोग पुर्याउने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, निर्वाचन अधिकृत, स्थानीय प्रशासन, कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवार, मतदाता, पर्यवेक्षक, अन्तर्राष्ट्रिय समुदाय, सञ्चारमाध्यम तथा निजी क्षेत्रलगायत सबैप्रति निर्वाचन आयोगले हार्दिक आभार व्यक्त गरेको छ।
आयोगका अनुसार राजनीतिक विद्रोहपछि यति छोटो समयमा शान्तिपूर्ण रूपमा सफलतापूर्वक निर्वाचन सम्पन्न हुनु विश्वमै दुर्लभ उदाहरण हो। नेपालको यस निर्वाचनलाई अन्तर्राष्ट्रिय समुदायले समेत नजिकबाट नियालिरहेको थियो। निर्धारित मितिमै निर्वाचन सम्पन्न हुन सक्नुमा सबै सरोकारवाला पक्षको सहयोग र निर्वाचनप्रतिको विश्वास महत्वपूर्ण रहेको आयोगले जनाएको छ।
निर्वाचन व्यवस्थापनका क्रममा आयोगले खेलेको नेतृत्वदायी भूमिकामा यदि कुनै पक्षबाट सानो असहयोग भएको भए निर्वाचन प्रभावित हुन सक्ने अवस्था रहेको बताइएको छ। तर नवयुवा पुस्ताको विद्रोहपछि संविधान र देशलाई सही दिशामा लैजान निर्वाचन नै एक मात्र विकल्प भएको बुझाइका कारण सबै पक्ष एकजुट हुँदा यो पवित्र कार्य सफलतापूर्वक सम्पन्न भएको आयोगको भनाइ छ।
निर्वाचन सम्पन्न गराउन सुरक्षाको उचित व्यवस्था मिलाइ सहयोग पुर्याएको भन्दै आयोगले नेपाल सरकारप्रति पनि धन्यवाद व्यक्त गरेको छ। लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान भएको उल्लेख गर्दै आयोगले आफ्नो मताधिकार प्रयोग गर्ने सम्पूर्ण मतदाताप्रति विशेष धन्यवाद व्यक्त गरेको छ।
हाल मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको छ। प्रारम्भिक विवरण अनुसार देशभर करिब ६० प्रतिशत मतदान भएको देखिएको आयोगले जनाएको छ।
केही मतदान केन्द्रमा विभिन्न कारणले केही समय मतदान रोकिए पनि राजनीतिक दल, उम्मेदवार तथा निर्वाचन प्रतिनिधिहरूसँगको छलफलपछि पुनः सुचारू गरिएको थियो। सो क्रममा देखिएको संयमता र सहकार्यका लागि आयोगले सम्बन्धित सबै पक्षलाई धन्यवाद दिएको छ।
मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट साँझदेखि नै मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा संकलन भइरहेको छ। मतपेटिका मतगणना स्थलमा ल्याइसकेपछि दलीय सहमतिमा काठमाडौँ उपत्यकासहित केही स्थानमा आज रातिदेखि नै मतगणना सुरु गरिने र अन्य स्थानमा मतपेटिका सुरक्षित रूपमा संकलन भएपछि तुरुन्तै मतगणना सुरु गरिने आयोगले जनाएको छ।
गत भदौ २३ र २४ गते भएको नवयुवा विद्रोहपछि विकसित परिस्थितिमा आयोजना गरिएको यस आकस्मिक प्रतिनिधि सभा निर्वाचनमा सहभागी सम्पूर्ण मतदाता तथा सरोकारवालाप्रति आयोगले पुनः धन्यवाद व्यक्त गरेको छ।