काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय उपाध्यक्ष लोक दाहालले मध्यपूर्वमा घटेको दुःखद घटना र त्यसबाट उत्पन्न मानवीय क्षतिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै वर्तमान परिस्थितिमा १२ औँ एकताको महाधिवेशनको मिति पुनर्विचार गर्न आग्रह गरेका छन्।
दाहालले जारी गरेको वक्तव्यमा मध्यपूर्वमा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, पछिल्लो घटनाक्रमपछि यात्रासम्बन्धी असहजता बढेको, केही प्रतिनिधिहरू एयरपोर्टमा अलपत्र परेको तथा कतिपयको टिकट रद्द भएको अवस्थालाई दृष्टिगत गर्दै निर्धारित मितिमा महाधिवेशन आयोजना गर्नु उपयुक्त हुन्छ वा हुँदैन भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको उल्लेख गरेका छन्।
उनले महाधिवेशन सुरु हुन करिब १० दिन मात्र बाँकी रहँदा पनि डेलिगेटहरूको अन्तिम नामावली टुंगोमा पुग्न नसकेको जनाउँदै संघको विधान, कार्यविधि तथा कानुनी प्रक्रियाको पूर्ण पालना नगरी आयोजना गरिने अधिवेशनले भविष्यमा थप जटिलता निम्त्याउन सक्ने चेतावनी दिएका छन्। विगतका कानुनी विवादबाट पाठ सिकेर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्।
दाहालले १० औँ र ११ औँ महाधिवेशनका अनुभव स्मरण गर्दै ‘एकताको महाधिवेशन’ भन्ने साझा प्रतिबद्धता सबै पक्षलाई समेटेर, आपसी समझदारी र सहमतिका आधारमा अघि बढ्दा मात्र सार्थक हुने बताएका छन्। हतार वा एकपक्षीय निर्णयले एकताको सट्टा विभाजन बढाउन सक्ने उनको भनाइ छ।
वर्तमान असहज परिस्थिति, कानुनी जटिलता तथा सांगठनिक अन्योलतालाई मध्यनजर गर्दै उनले निम्न कदमहरू तत्काल विचार गर्न सुझाव दिएका छन्–
- तुरुन्त सर्वपक्षीय छलफल आह्वान गरियोस्।
- सबै पक्षको सम्मानजनक सहभागिता सुनिश्चित हुने गरी महाधिवेशनको मिति केही समयका लागि पुनर्विचार गरियोस्।
- निर्वाचन समिति तथा स्टेयरिङ कमिटीले कानुनी प्रक्रिया र डेलिगेट नामावलीमा पूर्ण पारदर्शिता कायम गरोस्।
संस्थाको साख र गरिमा जोगाउनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै दाहालले नेतृत्व तहले समन्वय, संयम र दूरदर्शिताका साथ निर्णय लिई संस्थालाई थप जटिलतामा जानबाट जोगाउने विश्वास व्यक्त गरेका छन्। उनले स्टेयरिङ कमिटी, निर्वाचन समिति तथा सम्पूर्ण पूर्व अध्यक्षहरूलाई समयमै आवश्यक पहल गर्न हार्दिक अनुरोध समेत गरेका छन्।