एनआरएनए मध्यपूर्व सम्मेलन सफल बनाउन बैंकिङ क्षेत्रसँग सहकार्यबारे छलफल
काठमाडौं । नेपाल बसाइका क्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सहयोग तथा सहकार्यका विषयमा एनआरएनए मध्यपूर्व संयोजक रमेश श्रेष्ठले विभिन्न महत्वपूर्ण भेटघाट तथा छलफललाई तीव्रता दिएका छन्।
यसै क्रममा श्रेष्ठले ग्लोबल आईएमई बैंकको Non-Resident & Overseas Banking Department का प्रमुख श्याम प्रसाद लामिछाने, Overseas Resource Manager हरि शर्मा तथा Overseas Banking Unit Manager रामबहादुर क्षेत्रीसँग भेटघाट गरेका छन्।
भेटका क्रममा आगामी एनआरएनए मध्यपूर्व सम्मेलन सफल बनाउन बैंकको सहकार्य तथा आवश्यक सहयोगका विषयमा औपचारिक निमन्त्रणासहित महत्वपूर्ण छलफल भएको जनाइएको छ।
छलफलमा मध्यपूर्वमा रहेका नेपाली समुदायका समसामयिक विषय, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या तथा अवसर, साथै रेमिट्यान्सलाई सुरक्षित र वैधानिक माध्यमबाट नेपाल पठाउन प्रोत्साहन गर्ने उपायहरूबारे विचार–विमर्श भएको थियो।
विशेषगरी मध्यपूर्वबाट नेपाल भित्रिने रेमिट्यान्सलाई थप व्यवस्थित बनाउँदै नेपालीहरूले विदेशमा गरेको मेहनतको कमाइ सुरक्षित, भरपर्दो र कानुनी माध्यमबाट नेपाल पठाउने वातावरण निर्माण गर्न बैंक र एनआरएनएबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो।
उक्त भेटघाटमा एनआरएनए मध्यपूर्वका उप–संयोजक विकास शाहीको समेत उपस्थिति रहेको थियो।
एनआरएनए मध्यपूर्व संयोजक श्रेष्ठका अनुसार सम्मेलनलाई प्रभावकारी बनाउन सरकारी निकाय, बैंकिङ क्षेत्र, निजी क्षेत्र तथा नेपाली समुदायसँगको सहकार्यलाई प्राथमिकताका साथ अघि बढाइनेछ।