ग्लोबल भुटानी हिन्दू अर्गनाइजेसनका अध्यक्ष कमल धिमाललाई ‘Community Uplift Award 2026’

theoutsidenepal.com

ग्लोबल भुटानी हिन्दू अर्गनाइजेसनका अध्यक्ष कमल धिमाललाई ‘Community Uplift Award 2026’

ह्यारिसबर्ग, पेन्सिलभेनिया । ग्लोबल भुटानी हिन्दू अर्गनाइजेसन (GBHO) का अध्यक्ष कमल धिमाललाई समुदायको उत्थान, नेतृत्व र सामाजिक सेवामा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै प्रतिष्ठित ‘Community Uplift Award 2026’ बाट सम्मान गरिएको छ।

अमेरिकाको पेन्सिलभेनियास्थित ह्यारिसबर्गमा सेप्टेम्बर १२, २०२६ मा आयोजित विशेष समारोहबीच धिमाललाई उक्त सम्मान प्रदान गरिएको हो। बुध खड्का फाउन्डेसनद्वारा प्रदान गरिएको यो सम्मान फाउन्डेसनका संस्थापक तथा निर्देशक टिका ढुंगानाले प्रदान गरेका थिए।

ग्लोबल भुटानी हिन्दू अर्गनाइजेसनको अध्यक्षका रूपमा धिमालले भुटानी समुदायको सामाजिक, सांस्कृतिक तथा सामुदायिक विकासमा निर्वाह गरेको नेतृत्वदायी भूमिका, निरन्तर समर्पण र उल्लेखनीय योगदानको उच्च मूल्यांकन गर्दै उनलाई सम्मान गरिएको जनाइएको छ।

स्वास्थ्यसम्बन्धी कारणले अध्यक्ष धिमाल स्वयं समारोहमा उपस्थित हुन नसकेपछि उहाँको तर्फबाट GBHO का बोर्ड अध्यक्ष नारद अधिकारीले सम्मान ग्रहण गरेका थिए।

सम्मान समारोहमा धिमालको नेतृत्व र समुदायप्रतिको सेवाभावको प्रशंसा गर्दै उनको योगदानलाई भुटानी समुदायको एकता, पहिचान र समग्र उत्थानका लागि महत्वपूर्ण रहेको बताइएको थियो।

GBHO को बोर्ड अफ डाइरेक्टर्स, संस्थापक सदस्य तथा सम्पूर्ण परिवारले टिका ढुंगाना र बुध खड्का फाउन्डेसनप्रति हार्दिक आभार व्यक्त गरेको छ। साथै, अध्यक्ष कमल धिमाललाई यो गौरवपूर्ण सम्मानका लागि बधाई दिँदै निरन्तर सामाजिक सेवाका लागि सुस्वास्थ्य, शक्ति र सफलताको शुभकामना व्यक्त गरिएको छ।

समुदायको हित, एकता र उत्थानका लागि निरन्तर सक्रिय धिमाललाई प्राप्त यो सम्मानले नेपाली तथा भुटानी मूलका डायस्पोरा समुदायमा सामाजिक नेतृत्व र सेवाको महत्वलाई थप उजागर गरेको छ।

— द टन न्युज


प्रतिक्रिया