एनआरएनए आईसीसी उप–महासचिव प्रबिन गुरुङलाई युएईमा स्वागत
काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का उप–महासचिव प्रबिन गुरुङलाई संयुक्त अरब इमिरेट्स (युएई) मा भव्य रूपमा स्वागत गरिएको छ।
एनआरएनए आईसीसीका उपाध्यक्ष मनोज कुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत स्टाटस सार्वजनिक गर्दै उप–महासचिव गुरुङको युएई आगमनलाई स्वागतयोग्य र महत्वपूर्ण अवसरका रूपमा उल्लेख गर्नुभएको छ। उहाँले गैरआवासीय नेपालीहरूको हकहित संरक्षण, संगठन सुदृढीकरण तथा आपसी समन्वयलाई थप मजबुत बनाउने दृष्टिले गुरुङको भ्रमण अत्यन्तै उपयोगी हुने विश्वास व्यक्त गर्नुभएको छ।
श्रेष्ठले युएई बसाइका क्रममा उप–महासचिव गुरुङसँग एनआरएनएका समसामयिक गतिविधि, प्रवासी नेपाली समुदायका विविध मुद्दा तथा संगठनात्मक सुधार र सहकार्यका विषयमा सकारात्मक छलफल हुने अपेक्षा समेत व्यक्त गर्नुभएको छ।
स्वागत कार्यक्रममा युएईका पूर्व अध्यक्ष तथा एनए का अध्यक्ष विकाश शाही, एनआरएनए युएईका अध्यक्ष भिम मल्ल ठकुरी तथा युएईका जनसम्पर्क समिति का सभापति भवानी प्रसाद तिमल्सिनाको पनि उपस्थिति रहेको थियो। सहभागी नेताहरूले युएईस्थित नेपाली समुदायको हितमा आईसीसी नेतृत्वको भ्रमणले नयाँ ऊर्जा र दिशानिर्देश प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
युएईमा रहेका गैरआवासीय नेपालीहरूको हकहित, एकता र संगठनात्मक सुदृढीकरणका लागि उप–महासचिव गुरुङको भ्रमण महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।