बुर्किना फासोमा सबै राजनीतिक दल विघटन, सैन्य सरकारले पूर्ण राजनीतिक प्रतिबन्ध लगायो

theoutsidenepal.com

पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोमा सैन्य सरकारले देशका सम्पूर्ण राजनीतिक दलहरू विघटन गर्दै सबै प्रकारका राजनीतिक गतिविधिमा पूर्ण प्रतिबन्ध लगाएको छ। क्याप्टेन इब्राहिम ट्राओरेको नेतृत्वमा रहेको सरकारले राजनीतिक दलहरूको अत्यधिक संख्याले नागरिकबीच विभाजन सिर्जना गरेको, दुरुपयोग बढाएको र सामाजिक संरचना कमजोर पारेको दाबी गर्दै यो कठोर निर्णय लिएको हो।


सरकारको नयाँ व्यवस्थाअनुसार विघटित राजनीतिक दलहरूको सम्पूर्ण चल–अचल सम्पत्ति राज्यको स्वामित्वमा हस्तान्तरण गरिनेछ। साथै, पार्टीसम्बन्धी कानुन, कोष व्यवस्थापन नियम र विपक्षी दलको नेताको पद नै खारेज गर्ने गरी नयाँ विधेयक अघि बढाइएको छ।


यसअघि राजनीतिक दलहरूलाई सार्वजनिक कार्यक्रम आयोजना गर्न मात्र रोक लगाइएको थियो। तर पछिल्लो निर्णयसँगै आन्तरिक बैठक, संगठनात्मक गतिविधि तथा कुनै पनि राजनीतिक संलग्नतामा पूर्ण बन्देज लगाइएको छ।


बुर्किना फासो विगत लामो समयदेखि जिहादी समूहहरूको हिंसात्मक विद्रोहबाट आक्रान्त रहँदै आएको छ। उत्तरी र पूर्वी क्षेत्रमा सक्रिय यी समूहहरूको आक्रमणका कारण हजारौँ नागरिकको ज्यान गएको छ भने लाखौँ मानिस विस्थापित भएका छन्।


यही गम्भीर सुरक्षा संकट र पूर्ववर्ती सरकारहरूको असफलतालाई आधार बनाएर सन् २०२२ को सेप्टेम्बरमा ३४ वर्षीय इब्राहिम ट्राओरेले ‘कू’ मार्फत सत्ता कब्जा गरेका थिए। उनले तत्कालीन सैन्य शासक पल हेनरी सान्डाओगो डामिबालाई पदच्युत गरेका थिए, जो आफैँ पनि विद्रोहमार्फत सत्तामा पुगेका थिए।


एक समय १०० भन्दा बढी दर्ता भएका राजनीतिक दलहरू रहेको बुर्किना फासोमा अब सत्ता पूर्ण रूपमा सेनाको हातमा केन्द्रित भएको छ। जिहादी विरुद्धको लडाइँमा सैन्य अनुभव र प्रारम्भिक चरणमा सर्वसाधारणको विश्वास जितेका ट्राओरेले पछिल्ला दिनहरूमा असहमति पूर्ण रूपमा दबाउँदै राजनीतिक परिदृश्य नै समाप्त पार्ने दिशामा कदम चालेका छन्।


यस निर्णयले बुर्किना फासोमा नागरिक स्वतन्त्रता, अभिव्यक्ति अधिकार र लोकतान्त्रिक भविष्यप्रति गम्भीर प्रश्न उठाएको छ। अन्तर्राष्ट्रिय समुदाय र मानवअधिकार संगठनहरूले यस कदमलाई नजिकबाट नियालिरहेका छन्।


प्रतिक्रिया