“शिकागोल्यान्ड थारु सोसाइटीको माघी महोत्सव सम्पन्न, एनआरएनए एनसीसी अमेरिका अध्यक्ष सतेन्द्र शाह प्रमुख अतिथि”
शिकागो — शिकागोल्यान्ड थारु सोसाइटीद्वारा आयोजित माघी महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का अध्यक्ष सतेन्द्र शाह प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष शाहले थारु समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। प्रवासमा रहेर पनि नेपाली संस्कृति र चाडपर्वलाई निरन्तरता दिनु गौरवको विषय भएको उनले बताए।
कार्यक्रममा सहभागितापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै अध्यक्ष शाहले “Chicagoland Tharu Society द्वारा आयोजित माघी महोत्सवमा प्रमुख अतिथिको रूपमा उपस्थित हुन पाउँदा गौरवान्वित छु” भन्दै आयोजक संस्थाप्रति धन्यवाद व्यक्त गरेका छन्।
माघी महोत्सवमा थारु संस्कृतिका झाँकी, सांस्कृतिक नृत्य, गीतसंगीत तथा नेपाली समुदायबीच आपसी सद्भाव र एकताको सन्देश प्रस्तुत गरिएको थियो। कार्यक्रममा शिकागो क्षेत्रका विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, समाजसेवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।