विदेशमा रहेका नेपालीलाई मातृभूमिको दुःखमा साथ दिन एनआरएनए वरिष्ठ उपाध्यक्ष शेरचनको अपिल
काठमाडौं — गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनले विपत्तिमा परेको नेपाललाई सहयोग गर्न विश्वभर रहेका नेपाली समुदायलाई आह्वान गरेका छन्।
नेपालमा बाढी, पहिरो लगायतका प्राकृतिक विपत्तिबाट जनधनको क्षति भइरहेका बेला शेरचनले विदेशमा रहेका नेपालीहरू पनि मातृभूमिको पीडामा मौन बस्न नसक्ने बताएका हुन्।
सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै उनले नेपाल केवल जन्मभूमि मात्र नभई नेपालीहरूको पहिचान, भावना र साझा आमा भएको उल्लेख गरेका छन्। विपत्तिको समयमा सहयोगको आकारभन्दा पनि पीडितको साथमा कसरी उभिने भन्ने कुरा महत्वपूर्ण रहेको उनको भनाइ छ।
शेरचनले आर्थिक सहयोग, राहत सामग्री, स्वयंसेवा तथा सहयोगसम्बन्धी सूचना फैलाउने काममार्फत पनि विपत्तिमा परेकाहरूलाई साथ दिन सकिने बताएका छन्।
“सानो सहयोग होस् वा ठूलो, हरेक योगदानले कसैको जीवनमा आशा जगाउन सक्छ,” उनले उल्लेख गरेका छन्।
उनले एनआरएनए तथा संसारभर रहेका नेपाली समुदायहरू राहत, उद्धार र मानवीय सहयोगका लागि एकजुट हुँदै गएको बताउँदै यसलाई कुनै एक संस्थाको मात्र अभियान नभई सम्पूर्ण नेपालीको साझा जिम्मेवारी र मानवीय कर्तव्यका रूपमा लिनुपर्नेमा जोड दिएका छन्।
शेरचनले स्वदेश र विदेशबीचको दूरीलाई सहयोग र एकतामार्फत छोट्याउँदै विपत्तिमा परेका नेपालीको हात समात्न सबैलाई आग्रह गरेका छन्।
“नेपाललाई आज हाम्रो सहानुभूति मात्र होइन, हाम्रो साथ चाहिएको छ। हाम्रो शब्द मात्र होइन, हाम्रो सहयोग चाहिएको छ। हाम्रो चिन्ता मात्र होइन, हाम्रो एकता चाहिएको छ,” उनले भनेका छन्।
उनले नेपाललाई आवश्यक परेको समयमा विश्वभरका नेपाली एकजुट भएर उभिनुपर्ने बताउँदै ‘एक नेपाली, एक मन, एक साथ—नेपालको साथ’ भन्ने भावनासहित मानवीय सहयोगमा जुट्न आह्वान गरेका छन्।